• वीरगन्ज महानगरपालिकाका प्रमुख विजय सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार वीरगन्जमा आयोजित एक कार्यक्रममा मेयर सरावगीसहित ४ जना वडाध्यक्षलाई एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन् ।

    गत स्थानीय चुनावमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट सरावगी मेयरमा निर्वाचित भएका हुन् । व्यापारिक पृष्ठभूमिका सरावगी वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्षसमेत बनेका थिए । उनी स्थानीय चुनाव अघि फोरम प्रवेश गरेका थिए । पार्टी प्रवेशलगत्तै उनले मेयरको टिकट पाएका थिए ।

    पछिल्लो समय जनता समाजवादी पार्टी(जसपा)मा रहेका सरावगीले पार्टीले असहयोग गरेको बताउँदै आएका थिए । एमाले प्रवेश गर्दै प्रमुख सरावगीले जनता समाजवादी पार्टीले अहिले पनि जातिवादकै राजनीति गरिरहेको आरोप लगाए । एमाले अध्यक्ष ओलीसँग आफू सुरुदेखि नै प्रभावित भएको भन्दै प्रमुख सरावगीले ओलीकै नेतृत्वमा मुलुकले नयाँ काँचुली फेर्ने दाबीसमेत गरे ।

4565