• संविधान सभाको पहिलो निर्वाचनबाट सबै भन्दा ठूलो दल बनेको माओवादी यतिबेला पुनः टुट र विभाजनको शिकार बन्दै आएकोछ । पछिल्लो समय एमसीसीकै कै कारण माओावादीभित्र विवाद चुलिएको छ। आन्तरिक पार्टी बढ्दो विवादले विभाजनको खतरा देखिएको छ।

    गएको आइतबार संघीय संसदको प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन भएपछि त्यसको साइड इफेक्ट सबै भन्दा धेरै माओवादी केन्द्रमा देखिएको छ। शुरुदेखि संशोधन विना अनुमोदन असम्भव भन्दै आएको माओवादी व्याख्यात्मक घोषणाको आवरणमा सहमत भएपछि पार्टीभित्र त्यस्को गम्भीर साइड इफेक्ट देखिएको हो । नारायणकाजी श्रेष्ठ लगायतका पाँच नेता अध्यक्ष दाहालले सत्ताका लागि एमससीसीमा पार्टी अडान विपरीत निर्णय लिएको भन्दै उनीहरुमा चरम असन्तुष्टि बढेको छ।

    २०६४ को पहिलो संविधानसभापछि नेकपा माओवादी र एकता केन्द्रबीच पार्टी एकता भएको थियो । पार्टीमा दोश्रो नेताका रुपमा रहदै आएका र दाहालका विश्वास पात्र समेत मानिएका श्रेष्ठसहितका नेताहरु दाहालसंग रुष्ट भएपछि पार्टी विभाजनको डिलमा पुगेको छ। सोमबार एमसीसीको विषयमा अध्यक्ष दाहालले गरेको पत्रकार सम्मेलनमा नेता काजीप्रति गुनासो गरेका थिए, अध्यक्ष दाहालले गुनासो मात्रै गरेका थिएनन्, काजी पाटीमा नहुँदा कुनै फरक नपर्ने आशय व्यक्त गरेपछि काजी झनै चिढिए ।

    पत्रकार सम्मेलनको दोश्रो दिन काजी निवास हात्तीवन पुगेर अध्यक्ष दाहालले मनाउने प्रयास गरेपनि उनी शान्त भएनन् । एमसीसीकै मुद्दा विवादले चिढिएका काजीले बुधबार नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई भेटेर सहकार्यको प्रस्ताव गरेपछि माओवादी भित्र थप पराकम्पन गएको छ।

    एकतापछि विभाजन र टुटफुटको मार खादै आएको माओवादीमा पछिल्लो समय एमसीसीकै कारण विभाजनको संकेत देखिएको छ। पार्टीभित्र अध्यक्ष दाहालको लचकताका नाउँमा जेपनि निर्णय गर्ने र पार्टीमा सामूहिक छलफल कम गर्ने प्रवृत्ति छ । त्यही प्रवृत्तिको पछिल्लो नजिर हो, एमसीसीको व्याख्यात्मक टिप्पणी । व्याख्यात्मक टिप्पणीको बचाउ गर्दै आएका दाहालको तर्कमा काजी लगायतका नेताहरु विश्वस्त छैनन् ।अध्यक्ष दाहालले पार्टीभित्र विवादलाई मत्थर पार्ने प्रयास नगरेका पनि होइनन् । तर, काजी लगायतका पाँच नेता उनीसंग आश्वस्त हुन नसक्दा पार्टी विभाजनको खतरा देखिएको छ।

4565