• मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले सोमबार नेपालको संसदबाट अनुमोदित ५० करोड अमेरिकी डलरबराबरको नेपाल–एमसिसी अनुदान सम्झौतालाई मंगलबार स्वीकार गरेको छ । एमसीसीले अब सम्झौंता कार्यान्वयनको दिशातिर अघि बढेको पनि जनाएको छ ।

    प्रतिनिधिसभाले व्याख्यात्मक टिप्पणीसहित एमसिसी अनुमोदन गरेपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले प्रधानमन्त्री शेरबहादुर देउवालाई मंगलबारै टेलिफोन गर्दै खुसी व्यक्त गरेका थिए । एमसिसी मुख्यालयले जारी गरेको विज्ञप्तिमा सम्झौता अनुमोदन गर्ने निर्णयमा नेपालले आफूलाई सधैँ एक सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा प्रमाणित गरेको उल्लेख छ ।

    अनुमोदनसँगै पाँच वर्षमा परियोजना सम्पन्न हुनेतर्फ तयारीका लागि मद्दत गरेको पनि एमसिसीको भनाइ छ । सम्झौता अनुमोदनले पाँचवर्षे परियोजना कार्यान्वयन गर्ने दिशामा भइरहेका काम जारी राख्न थप प्रेरित गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

    परियोजनाले नेपालमा बिजुलीको थप भरपर्दो आपूर्ति, कम यातायात लागत र नेपाली जनताका लागि थप रोजगारी सिर्जना गर्न सहयोग पु¥याउने विश्वास पनि विज्ञप्तिमा गरिएको छ । नेपाल सरकार र एमसिसीबीच ०७४ भदौमा हस्ताक्षर भएको थियो । विद्युत र सडक परियोजनाले नेपालका करिब ८० प्रतिशत जनतालाई लाभ पुग्ने एमसिसीको मूल्यांकन छ ।

    नेपाल र अमेरिकाबीच ७५ वर्षको कूटनीतिक सम्बन्ध सम्झिँदै एमसिसीले यसबीचमा नेपालमा भएका विकास सहायता, प्रकोपको उद्धार, सहायता, स्वास्थ्य र शिक्षासँग सम्बन्धित कार्यक्रममार्फत अमेरिका सरकार र जनता नेपालसँगै उभिएको जनाएको छ । एमसिसी कार्यान्वयनका २० वर्षमा धेरै मुलुकमा गरिबी निवारणमा मद्दत पुगेको उसको दाबी छ ।

4565