• एमाले र कांग्रेसबीच सहकार्य बन्ने सम्भावना बढेपछि राष्ट्रिय राजनीतिमा नयाँ ट्वीस्ट भएको छ। एमसीसीकै कारण गठबन्धन भत्किने र एमाले राजनीतिमा हावी हुने छनक देखिएपछि माओवादी केन्द्र र एकीकृत समाजवादीले मध्यमार्गी बाटो अपनाउने भएका हुन् ।

    एमसीसीको कारण पेचिलो बन्दै गएको गठबन्धन टुट्न नदिन अन्तिम कसरत भइरहेको छ। त्यसको लागि माओवादी केन्द्र र एसमाजवादीले नयाँ विकल्प अघि सार्ने भएका छन् । नेकपा माओवादी केन्द्रले गठबन्धन जोगाउने शर्तमा संसद बैठक बहिस्कार गरेर एमसीसी अनुमोदन हुन दिने रणनीतिमा पुगेको छ। उता उसकै सहयात्री एकीकृत समाजवादीले पनि माआवादी केन्द्रकै लाइनमा एमसीसीलाई पारित गर्न दिने संकेत देखाएको छ। माओवादी केन्द्रको शुक्रबार बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले गठन्धनबाट बाहिरिने की एमसीसी अनुमोदन गर्न दिने विषयमा नेताहरुसंग सुझाव मागेका थिए । उनको जवाफमा नेताहरुले गठबन्धन जोगाएर एमालेलाई हाबी दिन नहुने सुझाव दिएका थिए ।

    प्रधानमन्त्री देउवाले शुक्रबार माओवादी अध्यक्ष दाहालसंग छलफल गरे । छलफलले ठोस परिणाम के आयो भन्ने जवाफ नेताहरुले नदिएपनि सकारात्मक भएको भन्दै बैठक सकिएको नेताहरुलै प्रतिक्रिया दिए । कांग्रेस र एमालेको नयाँ समीकरण बन्न सक्ने अवस्थालाई मध्यनजर गरेर माओवादी केन्द्र र एसमाजवादी लचक भएको आँकलन गरिएको छ। संसदबाट एमसीसी अनुमोदन हुँदा माओवादी र एकीकृत समाजवादीको अवरोध सिर्जना नगर्ने गरी मध्यमार्गी बाटो रोज्ने गरी उनीहरु अघि बढेको बुझिएको छ।

    संसद बैठकमा एमसीसी निर्णयार्थ प्रस्तुत हुँदा दुई पार्टीले बैठक बहिस्कार गर्ने र कांग्रेस तथा लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले मात्रै एमसीसी अनुमोदन गर्न दिने गरी विकल्प तयार गरिएको माओवादी केन्द्रका नेताहरुले बताएका थिए । मध्यमार्गी बाटोमा प्रधानमन्त्री सहमत भएकोले गठबन्धन जोगाएर मध्यमार्गी लाइन रोजेको उनीहरुले बताए ।

    संसद् बैठक बस्नका लागि एक चौथाइ सांसद अर्थात् ६८ जनाको उपस्थिति अनिवार्य हुन्छ । अहिले संसदमा २७१ जना सांसद छन् । कांग्रेसका ६३ सांसदमध्ये दुई जना उपचारका लागि भारतमा छन् भने दुई जना निलम्बित छन् । यसरी कांग्रेसको ५९ र लोकतान्त्रिक समाजवादी पार्टीको १३ जना गरेर ७२ जनाको उपस्थिति हुने हुँदा संसद् बैठक चल्नुको साथै अनुमोदन हुन सक्छ । नेकपा एमालेले संसद् अवरोध गरिरहेको छ । एमालेले संसद् अवरोधका लागि वेलमा नारा लगाइरहेको अवस्थामा ध्वनि मत प्रक्रियाबाट एमसीसी अनुमोदन हुँदा एमालेको मत गणना हुँदैन ।माओवादी र एकीकृत समाजवादीले बैठक बहिस्कार गर्दा कांग्रेस र लोसपाका सांसदले मात्रै एमसीसी अनुमोदन गराउन सक्छन् ।

4565