• एमसीसीका विषयमा सत्तारुढ दलहरुबीच विवाद थप बढेको छ। एमसीसी कै कारण गठबन्धन नै टुट्ने अबस्थामा पुगेको छ भने सहमतिको सट्टा दलका नेताहरुले आआफ्नै ढिपी गरिरहेका छन ।

    नेकपा एकीकृत समाजवादी का सांसद झलनाथ खनालले एमसीसीबारे सहमति नहुने दाबी गरेका छन । बिहीवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा सांसद खनालले एकथरि महाशक्ति राष्ट्रको पछि लागिरहेको र अर्कोथरि देशको स्वाधिनता र स्वाभिमान बचाउन लागेकोले एमसीसीबारे कहिल्यै सहमति नहुने दाबी गरेका हुन । एमसीसीको बिरुद्धमा अब सडक तात्ने मात्र नभइ बल्ने गरी आन्दोलन हुने उनले चेतावनी समेत दिए ।

    गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी सकारात्मक ढंगले अघि बढ्ने बताए ।नेकपा एमालेका सांसद भीम रावलले शक्ति राष्ट्रहरुको चपेटामा देश परेको बताए । एमसीसीमा राष्ट्रहित विपरित भएकाले पारित गर्नै नहुने उनको तर्क छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा अध्यक्ष राजेन्द्र लिङदेनले ठूला राजनीतिक दलको आलोकाँचो व्यवहारका कारण देश शक्तिराष्ट्रहरुको रणनीतिक स्थल र परराष्ट्रनीतिमा समेत सन्तुलन बिग्रिएको बताए ।नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले एमसीसीमा मतदान भएपछि गठबन्धनमा माओवादी नबस्ने जवाफ कांग्रेसलाई दिइसकेको बताए ।

    लोकतान्त्रिक समाजवादी पार्टीका सांसद शरदसिंह भण्डारीले पार्टी एमसीसीको पक्षमा मतदान गर्ने बताए ।एमालेका सांसद योगश भट्टराईले गठबन्धन भत्काउन नेकपा एमालेले धुप हाल्ने र गणेशलाई पूजा गर्ने काम नगरेको भन्दै गठबन्धन सत्तारुढ दलहरुकै कारणले भत्किने दाबी गरे ।

4565