• सर्वोच्च अदालतले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोक्ने सरकारको निर्णयविरुद्धको रिट दर्ता गर्न अस्वीकार गरेको छ । बुधबार महोत्तरीको भंगहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले दायर गरेको रिट सर्वोच्च अदालतले दरपीठ गरेको हो ।

    आगामी वैशाख ३० गते निर्वाचन गर्दा संविधानले तोके अनुसार आफूहरुको कार्यकाल पाँच वर्ष पूरा नहुने भन्दै सरकरको निर्णय खारेजीको माग गर्दै प्रमुख साह रिट लिएर सर्वोच्च पुगेका थिए । तर रजिष्ट्रार नारायणप्रसाद पन्थीले त्यो निवेदन दर्ता गर्नकै लागि योग्य नभएको निष्कर्षसहित दरपीठको आदेश दिएका हुन् ।

    रजिष्ट्रार पन्थीले जारी गरेको दरपीठ आदेशमा ऐनको प्रावधान यथावत रहेको अवस्थामा मेयर साहले अनुमानका आधारमा निवेदन दर्ता गर्न खोजेको उल्लेख छ । सर्वोच्च प्रशासनको आदेशविरुद्ध प्रमुख साहले सर्वोच्च अदालतमै फेरि निवेदन दिने भएका छन् ।

    प्रमुख साहले दरपीठविरुद्ध निवेदन दिए कुनै एक न्यायाधीशको इजलासमा पेश हुनेछ । इजलासले दरपीठको आदेश सदर गरेमा त्यो निवेदन दर्ता हुन सक्दैन भने बदर गरेमा सर्वोच्च अदालत प्रशासनले निवेदन दर्ता गर्नुपर्ने हुन्छ ।

4565