• प्रधानमन्त्री शेरबहादुर देउवाले छ महिनामा सरकारले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण काम गरेको बताएका छन् । सरकारले ६ महिना पूरा गरेको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दैै जनतालाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन महत्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गरेका हुन् । कोभिड नियन्त्रणलाई रोकथाम गर्न खोपनै जरुरी रहेको बताउँदै उनले उपचार व्यवस्थालाई चुस्तदुरुस्त बनाएको उल्लेख गरे ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले अबको एक वर्षभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता पनि जनाएका छन् । प्रतिपक्षी दलले सरकार निर्वाचन नगर्ने षडयन्त्र गरिरहेको आरोप लगाइरहेको समयमा प्रधानमन्त्री देउवाले तीनै तहको निर्वाचन एक वर्षभित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । प्रधानमन्त्री देउवाले संसदभित्रको विवाद छिट्टै समाधन हुने दाबी गरेका छन् । उनले संसदभित्रको विवाद सबै राजनीतिक दलहरुसँग परामर्श गरेर समाधान गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

    प्रधानमन्त्री देउवाले छ महिनाको अवधिमा सरकारले आर्थिक र सामाजिक क्रियाकलापमा उल्लेख्य सुधार गरेको दाबी गरे । उनले आफ्नो नेतृत्वमा सरकार गठन भएपछि आर्थिक क्रियाकलापमा तीव्र विस्तार भएको दाबी गरे । कोभिड रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकारबीच समन्वय बनाइएको भन्दै उनले अर्थतन्त्र र सामाजिक कृयाकलामा सकेसम्म कम असर पर्नेगरी व्यवस्था मिलाइने जानकारीसमेत दिए । प्रधानमन्त्री शेरबहादुर देउवाले किसानलाई मल, बिउ र विद्यालय तहका विद्यार्थीलाई निशुल्क पुस्तक वितणको व्यवस्था मिलाएको बताएका छन् ।

4565