• काठमाडौं जिल्ला अदालतले संगठित ठगीको आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित दुई जनालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । बुधबार थुनछेक बहसपछि अदालतले सो आदेश दिएको हो ।

    जिल्ला न्यायाधीश राजकुमार कोइरालाको इजलासले करिब १५ दिन लामो सुनुवाइपछि मुख्य अभियुक्त तामाङ र सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई थुनामा पठाएको हो । अध्यक्ष श्रेष्ठ इच्छाराजका सम्धी हुन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा उनीहरूविरुद्ध पाँच अर्ब ७७ करोड ८० लाख ९० हजार ९०२ रुपैयाँ बिगोसहित ठगी र संगठित अपराधसम्बन्धी मुद्दा दायर गरेको थियो ।

    मुद्दामा प्रतिवादी बनाइएकामध्ये जिल्ला अदालतले एक जनालाई साधारण तारेख र नौ जनालाई धरौटीमा रिहा गर्ने आदेश जारी गरेको छ । हरिहरप्रसाद लामिछानेलाई ५० लाख, विजय विक्रम शाहीलाई १५ लाख, एलिना तुलाधरलाई पाँच लाख, मायोनानी महर्जनलाई पाँच लाख, भगवानबहादुर सिंहलाई १० लाख, शंकर श्रेष्ठलाई दुई लाख ५० हजार, राकेश श्रेष्ठलाई ५० हजार, बुद्धराज तामाङलाई पाँच लाख र कौस्तुभ केतन ढुंगानालाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको छ ।

    इच्छाराजसहित ४२ जनालाई प्रतिवादी बनाउँदै सरकारी वकिल कार्यालयले संगठित ठगीमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । एक हजार ५ सय ३ जनाको पाँच अर्ब ६७ करोड ५५ लाख २४ हजार ९३७ रुपैयाँ रकम सिभिल सहकारीमा फसेको प्रहरी अनुसन्धानबाट खुलेको छ । फस्नेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यदेखि पूर्वप्रधानसेनापति रुकमांगद कटवालसम्म छन् ।

4565