• एमसीसीबारे साझा धारणा तय गर्न सत्तारुढ गठबन्धनद्वारा गठित कार्यदलले प्रारम्भिक छलफल सुरु गरेको छ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वमा गठित कार्यदलले एमसीसीबारे सत्तारुढ दलबीच समान धारणा तय गर्न बुधबारबाट छलफल सुरु गरेको हो ।

    कार्य दलका संयोजक खनालको डल्लुस्थित निवासमा बसेको पहिलो बैठकमा गरिएको प्रारम्भिक छलफल सकारात्मक रहेको कार्य दलका सदस्य समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्य दलले त्यसलाई छिट्टै निष्कर्षमा पुर्याएर सञ्चार माध्याममार्फत् नेपाली जनतालाई सुसूचित गर्ने योजना पनि बनाएको छ ।

    मन्त्री कार्कीले भने, ‘एमसीसीबारे एकै किसिमको धारणा बनोस् भनेर हामीले छलफल प्रारम्भ गरेका छौं । र आज प्रारम्भिक छलफल भएको छ । छलफल सकारात्मक भएको छ । र केही दिन पछि हामी छलफल गरेर एउटा निष्कर्षमा पुग्छांै । र त्यो तपाईहरुमार्फत् सम्पूर्ण देशबासी दाजुभाई तथा दिदीबहिनीहरुमा सुसूचित गर्छौं । यसमा धेरै छलफल भईसकेको छ । अव यसलाई कसरी एउटा निष्कर्षमा पुर्याउने, त्यो बाटोमा जाने दिशामा हामी अग्रसर हुर्नुपर्छ ।’

    सत्तारुढ पाँच दलले केही दिन अघि एमसीसीबारे समान धारणा तय गर्न खनालको नेतृत्वमा नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ र काँग्रेस नेता समेत रहेका मन्त्री कार्की सम्मिलित ३ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले एमसीसीबारे धेरै छलफल गरेको उल्लेख गर्दै निष्कर्षमा अग्रसर हुने गरी छलफललाई अघि बढाएको पनि जनाएको छ ।

    काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीलाई पारित गरेर जानुपर्ने पक्षमा रहेकाछन भने सत्तासाझेदार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले यथास्थितिमा यसलाई संसदबाट पारित गर्न नहुने धारणा राख्दै आएका छन । यता, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने सत्तारुढ दलहरुको धारणा आएपछि मात्रै एमसीसीबारे आफूहरुले निर्णय लिने बताउँदै आएको छ ।

4565