• त्रेता युगमा आजकै दिन राम र सीताको विवाह भएको दिनको रुपमा हर्षोल्लासका साथ मनाइँदै आइएको छ । जनकपुरको जानकी मन्दिरमा भगवान सीता र रामको विवाह महोत्सव मनाइदै छ । गंगा सागरमा श्रद्धालुहरु स्नान गरेर जानकी मन्दिरमा पूजापाठ गर्दै विवाह पञ्चमी मनाइरहेका छन् ।

    जनकप्रको जानकी मन्दिर भव्य रुपमा सजाइएको छ । जनकपुरमा विवाह पञ्चमीलाई लिएर केही दिन पूर्वदेखि नै वैवाहिक गीतहरु बज्ने गरेका कारणले विवाह पञ्चमीको रौनकता छाएको छ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गर्छन् ।

    त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले उचालेर तीन टुक्रा पारेको रामायणमा वर्णन गरिएको छ । शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य समारोहबीच विवाह सम्पन्न भएको थियो ।

    रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिती रहेको विश्वास गरिन्छ । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता स–शरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि विवाहसम्ममा सहभागी हुन्छन् ।

    महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखि रङ्गभूमिमा पु¥याइन्छ ।

    त्यस्तै, जानकी रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । यस अवसरमा निस्केको भगवानको डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्दछन् ।

4565