• नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत छ प्रदेशमा मतदानबाट नयाँ नेतृत्व चयन हुँदैछ । सबै प्रदेशमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौला पक्षले उम्मेदवारी दर्ता गराएका छन् । अधिकांश प्रदेशमा नेतृत्वका लागि संस्थापन र इतर पक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

    प्रदेश १ मा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट उद्धव थापा र संस्थापनइतर पक्षबाट केन्द्रीय सदस्य गुरुराज घिमिरेले सभापतिमा उम्मेदवारी दिएका छन् । यसैगरी बागमतीमा संस्थापन पक्षबाट मकवानपुरका जिल्ला सभापति ईन्द्र बानियाँ, संस्थापनइतर पक्षबाट जगदीश्वर नरसिंह केसी र सिटौला पक्षबाट पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान सभापतिको प्रत्याशी रहेका छन् ।

    यस्तै गण्डकी प्रदेशमा संस्थापन पक्षबाट केन्द्रीय सदस्य अर्जुन जोशी र संस्थापन इतर पक्षबाट शुक्रराज शर्माले सभापतिमा उम्मेदवारी दिएका छन् । लुम्बिनी प्रदेशमा संस्थापन पक्षबाट भरत शाह र संस्थापनइतर पक्षबाट अमरसिंह पुन सभापतिको उम्मेदवार बनेका छन् भने कर्णाली प्रदेशमा संस्थापन पक्षबाट ललितसिंह शाही र संस्थापन इतर पक्षबाट भूपेन्द्रजंग शाहीबीच प्रतिस्पर्धा हुने भएको छ ।

    सुदुरपश्चिम प्रदेशमा संस्थापन पक्षबाट केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायर र संस्थापनइतर पक्षबाट नारायणदत्त मिश्र सभापतिको उम्मेदवार बनेका छन् । प्रदेश २ मा भने प्रदेश अधिवेशन हुन सकेको छैन । सर्लाहीमा क्षेत्रीय अधिवेशन नै हुन बाँकी रहेका कारण सो प्रदेशको अधिवेशन प्रभावित भएको हो ।

4565