• नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकतावद्ध बनाएर लैजानु अहिलेको आवश्यकता भएको बताएकाछन् ।नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजदेखि पोखरामा सुरु गण्डकी प्रदेश अधिवेशनको उद्घाटन समारोहमा उनले विपीको विचार र सिद्धान्तबाट पार्टी अलग भइरहेको बताउँदै उनका आदर्श र चिन्तनलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताए ।

    समय र माग अनुसार काँग्रेस अघि बढ्नुपर्नेमा जोड दिदै उनले विगतको समिक्षाका आधारमा दीर्घकालिन योजनाका साथ कृयाशिल बन्नुपर्ने बताए । लोकतान्त्रिक पद्धतिबाट चल्न नसक्दा यसले पार्टी संगठनलाई कमजोर बनाएको बताउँदै उनले पार्टीका आदर्श र सिद्धान्तलाई आत्मसात गर्दै संगठित र एकतावद्ध बनाएर लैजाने नेतृत्व अहिलेको आवश्यकता भएको बताए ।

    नेपाली काँग्रेसका महामन्त्री सशांक कोइरालाले विपीले देखाएको बाटोमा हिड्न नसक्दा पार्टी कमजोर बन्दै गएको बताउँदै उनका आदर्श र चिन्तालाई अवलम्बन गर्दै संगठनलाई थप मजवुद र कृयाशिल बनाएर जानुपर्ने बताए । महाधिवेशनले आगामी दिनमा पार्टीलाई अझै संगठित र एकतावद्ध बनाएर लैजाने उनले विश्वास व्यक्त गरे ।

    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले महाधिवेशनले पार्टीको आन्तरिक संगठनलाई चलायमान बनाएको बताउँदै यही जोस र उमंगलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । नेपाली काँग्रेसका पूर्व महामन्त्री एवम् पूर्व सभामुख ताराना रानाभाटले महाधिवेशनले आन्तरिक लोकतन्त्रलाई अघि बढाएको बताउँदै निर्वाचित नेतृत्वले पार्टीलाई थप मजवुद र कृयाशिल बनाएर लैजानुपर्ने आवश्यकता औंल्याए ।

    यता कार्यक्रममा बोल्न नपाएको निहुँमा नाराबाजी भएको छ । गण्डकी प्रदेशको जारी अधिवेशनअन्तर्गत बिहीबार उद्घाटन सभामै नाराबाजी भएको छ । आफ्नो पक्षका उम्मेद्वार आकांक्षीलाई बोल्न नदिएको भन्दै संस्थापनइतरका नेता कार्यकर्ताले नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।

    कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश सभापति पदका उम्मेद्वार अर्जुन जोशी बोलेपछि संस्थापनइतरका आकांक्षीले आफुहरू पनि बोल्न पाउनुपर्ने माग राखेर नाराबाजी गरेका थिए ।

4565