• नयाँ नेतृत्व चयनका लागि भोलिदेखि १२ गतेसम्म चितवनमा एमालेको १० औँ महाधिवेशन हुँदैछ । ५ लाख जनसहभागिता गराउने गरी एमालेले शुक्रबार भव्य समारोहबीच महाधिवेशनको उद्घाटन गर्दैछ ।

    नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु हुँदैछ । महाधिवेशनको पूर्वसन्ध्यामा चितवनको नारायणी नदी किनार क्षेत्र र सौराहा क्षेत्रमा एमाले नेता कार्यकर्ताको चहलपहल बढेको छ । एमालेका अध्यक्ष केपी ओली पनि महाधिबेशनस्थल चितवन पुगेका छन् । बिहीबार दिउँसो चितवन पुगेका अध्यक्ष ओलीलाई भरतपुर बिमानस्थलमा एमालेका नेता तथा कार्यकर्ताले भब्य स्वागत गरेका थिए ।

    महाधिवेशन उद्घाटनका लागि तीन सय जनाभन्दा बढी मानिस अटाउने मञ्च निर्माण गरिएको छ । त्यसैगरी उद्घाटन समारोहको प्रत्यक्ष प्रसारणका लागि नदी किनारमा पाँचवटा एलसीडी स्क्रिन राखिनेछ । यसका साथै एमालेले आफ्ना नेता, कार्यकर्ताका लागि सेल्फी प्वाइन्ट पनि नारायणी नदी किनारमा बनाएको छ । मञ्च निर्माणमा मात्र एमालेले करिब ४० लाख रुपैयाँ लगानी गरेको छ ।

    महाधिवेशनको लागि ४ हजार बस बुकिङ भइसकेको नेकपा एमालेले जनाएको छ । चितवनसहित बागमती प्रदेशबाट करिब ३ लाख मानिस सहभागी हुने अपेक्षा छ । प्रदेश २ बाट १ लाख मानिस आउने बताइएको छ । लुम्बिनीबाट ७५ हजार, गण्डकीबाट ५० हजार र प्रदेश १ बाट २५ देखि ३० हजार मानिस आउने एमालेको अपेक्षा छ ।

    पार्टीको दशौँ महाधिवेशन गर्न लागेको एमालेले चितवनका ११ ठाउँमा पार्किङको व्यवस्था गरेको जनाएको छ । शुक्रबार नारायणगढ भरतपुर क्षेत्रका राजमार्ग र अन्य मुख्य सहरी क्षेत्रमा गाडी चलाउन रोक लगाइएको छ । महाधिवेशनको बन्दसत्र सौराहस्थित एक होटलमा ११ र १२ मंसिरमा हुँदैछ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को झल्को दिने गरी महाधिवेशनको बन्दसत्र हुने स्थानमा कलात्मक चित्र कोरिएका छन् ।

4565