• सर्वोच्च अदालतका १८ जना न्यायाधीशहरूले गोला प्रक्रियाद्वारा इजलास गठन गर्ने मिति तोक्नका लागि बिहीबार पूर्ण बैठक (फुलकोर्ट) बोलाउने निर्णय गरेका छन् । बुधबार छलफल गरेका उनीहरूले गोला प्रक्रियाद्वारा इजलास गठन गर्नका लागि बिहीबार फूलकोर्ट बोलाउने निर्णय गरेका हुन् ।

    सामान्य अवस्थामा प्रधानन्यायाधीशको निर्देशन बमोजिम मुख्य रजिष्ट्रारले फुलकोर्ट बोलाउनुपर्नेमा अहिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्व अस्वीकार गर्दै आएका न्यायाधीशहरूले फुलकोर्ट बोलाउने निर्णय गरेका हुन् । फूल कोर्ट बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बाहेक सबै न्यायाधीशरु सहभागी हुने जनाइएको छ ।

    सर्वोच्च अदालत प्रशासनले मंसिर १५ गतेदेखि गोलाप्रथाबाट पेसी तोक्ने सकिने गरी तयारी अगाडि बढाइएको जानकारी पनि न्यायाधीशहरुलाई गराएको छ । गत बिहीबार बसेको फुलकोर्टले सर्वोच्च अदालत नियमावली संशोधनको निर्णय गर्दै प्रधानन्यायाधीशले तोक्दै आएको दैनिक पेसी र इजलास अब गोला प्रक्रियाद्वारा तोक्ने व्यवस्था गरेको थियो ।

    गत सोमबार नेपाल राजपत्रमा प्रकाशित उक्त संशोधित नियमावलीमा ‘फुलकोर्टले निर्णय गरेर राजपत्रमा सूचना प्रकाशन गरेको मितिदेखि गोला प्रक्रिया लागू हुने’ व्यवस्था गरिएको छ । त्यही व्यवस्था अनुसार गोला प्रक्रिया लागू हुने मिति तोक्न फुलकोर्ट बस्न लागेको हो ।

4565