• खाद्यान्न नभएर उत्तरी हुम्लामा भोकमरी हुने स्थिति आएको छ  । स्थानीय बासिन्दा चामलका लागि जिल्ला र सिंहदरबारको सरकार गुहार्दै सिमकोट हुँदै काठमाडौंसम्म आइपुगेका छन । नाम्खा गाउँपालिका–६ को लिमि गाउँमा ०७७ कात्तिक महिनादेखि खाद्यान्न अभाव भएको हो । आलु र उवा मात्रै उत्पादन हुने चीनसँग जोडिएको नाम्खा गाउँपालिकामा भोकमरी को अवस्था आएको हो ।

    लिमीका तीन गाउँ तिल, जाङ र हल्जीमा गत वर्षदेखि राज्यले चामल नपठाएपछि स्थानीययलाई आफ्नो उत्पादन भएको आलु र उवाले दुई–तीन महिना मात्र पुग्ने गरेको छ । तर कोरोना महामारीका कारण चीनले नाका बन्द गरिएपछि गाउँमा खाद्यान्नको थप संकट भएको हो । पाँच हजार मिटर अग्लो न्यालुलेक पहाडमा तीन फिट जमेको हिउँमा जोखिमपूर्ण यात्रा गरेर स्थानीय सदरमुकाम हुँदै काठमाडौंसम्म आएका हुन ।

    चामल उपलब्ध गराउन माग गर्दै स्थानीय सांसद छक्कबहादुर लामा सहित काठमाडौं आएका हुन । लिमिमा करीव १ सय ५० घरधुरीको बसोबास रहेको छ । तीन गाउँमा विगतमा खाद्य कम्पनीले हिल्सा नाका हुँदै चीनतर्फबाट खाद्यान्न ढुवानी गरेको थियो । कोरोना महामारीका कारण बन्द गरिएको हिल्सा नाका दुई वर्षसम्म खुलेको छैन । गत वर्ष सिमकोट खाद्य डिपोले गाउँपालिकाको याल्बाङ बिक्री केन्द्रमा तीन सय क्विन्टल चामल दिएको थियो । उक्त चामल गाउँपालिकाले १३ लाख खर्च गरेर ढुवानी गरेको थियो । उक्त चामल सकिएपछि संकट निम्तिएको हो ।

4565