• नक्कली नोट बनाउने गिरोहका एक सदस्य महोत्तरीवाट पक्राउ परेका छन । गौशाला प्रहरीले नेपाली र भारतीय नक्कली रुपैया बनाउदै गरेको अवस्थामा गौशालावाट एकजनालाई नियन्त्रणमा लिएको हो ।

    नेपाली एक हजार दरको नक्कली नोट छापेर महोत्तरी लगायत प्रदेश २ मा ल्याएर कारोबार गर्ने गिरोह नै सक्रिय रहेको पाइएको छ । अनुसन्धानका क्रममा व्यवस्थित ढंगले नक्कली नोट फैलाउने काम भैरहेको पाईएपछि प्रहरीले गिरोहको संलग्न रहेको ठहर गरि यस क्षेत्रमा निगरानी बढाएको छ ।

    सोही क्रममा महोत्तरी प्रहरीले गौशाला नगरपालिका–९ डुवरबन्नाका ४४ वर्षीय तरकारी व्यापारी सुकन महतोलाई नक्कली नोटसहित नियन्त्रणमा लिएको छ । उनले तरकारी व्यापारीको भेषमा नक्कली नोट छाप्ने गरेको अनुसन्धानमा खुलेको छ ।

    बिहीबार बिहान गौशाला बजारमा तरकारी खरिद गर्ने क्रममा किसानलाई नक्कली नोट दिएपछि सो घटना बाहिर आएको हो । सोही क्रममा प्रहरीले उनीमाथि अनुसन्धान शुरु गरिएको थियो । अनुसन्धानको क्रममा प्रहरीले गौशालास्थित उनको डेराबाट नेपाली ८ लाख ८२ हजार ४ सय २० रुपैयाँ र भारतीय २ लाख ७७ हजार ९ सय ७० रुपैयाँ बरामद गरेको छ ।

    महतोको कोठामा खान तलाशी गर्दा सो स्थानबाट पैसा बनाउन प्रयोग हुने प्रिन्टर मेशिन स्ट्याम्प , लाली गुँरास छाप भएको फलामके ढ्याक्क काठको ट्रेस सिमकार्ड मोबाईल जाली नोट जस्तो देखिने रकम र रकम बनाउन प्रयोग गरिने मेसिन पनि बरामद भएको छ ।

    प्रहरीले एक वर्षयता नक्कली नोटसम्बन्धी कसुरअन्तर्गत तीन जनामाथि खोटाचलन मुद्दा चलाएको छ । बरामद नक्कली नोट र सम्लग्न भएकाको संख्या बढ्दै गएकोले जिल्लामा यस्ता नोट अत्यधिक भित्रिएको प्रहरीको आशंका छ ।

4565