• काठमाडौंको वसन्तपुरमा इन्द्रध्वजा ठड्याएसँगै इन्द्रजात्रा सुरु भएको छ । शनिबार बिहान हनुमानढोका दरबार क्षेत्रमा वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान गरिएको हो।

    नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा ६ः५१ बजे इन्द्रजात्राको लिङ्गो ठड्याइएको हो । इन्द्रध्वजा ठड्याएपछि औपचारिक रुपमा इन्द्रजात्रा सुरु हुने परम्परा छ । हरेक वर्ष भदौशुक्ल द्वादशीका दिनदेखि एक हप्तासम्म मनाइने येँया भनिने इन्द्रजात्रा आउँदो ८ गतेसम्म मनाइन्छ ।

    इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन आइतबार कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ । असोज ४ गते माथिल्लो टोल यात्रा गराइने कार्यक्रम रहेको छ । असोज ८ गते नानिचा यात्रा गरिने छ । त्यसै दिन राति १० बजेर ३६ मिनेटमा इन्द्रध्वज पातनअर्थात् लिङ्गो ढालिने साइत छ ।

    कोरोना महामारीका कारण गत वर्ष पूजा आराधनामात्र गरेर यात्रा स्थगित गरिएको थियो । यस वर्ष सरोकार भएका निकायको बैठकले स्वास्थ्य मापदण्ड पालना गरी न्यूनतम उपस्थिति गराएर जात्रा गर्न लागिएको गुठी संस्थान काठमाडौँले जनाएको छ । इन्द्रजात्राको मुख्य दिन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी वसन्तपुर दरबार क्षेत्रमा आउनुहुने कार्यक्रम तय गरिएको जनाइएको छ ।

4565