• संखुवासभाको मादी हत्याकाण्डका आरोपी एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भतिज नाता पर्ने छिमेकी लोकबहादुर कार्कीलाई पक्राउ गरेको हो ।

    आरोपितले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार उनलाई आजै खाँदबारी लाने तयारी छ । भोलि पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिइने प्रहरीले जनाएको छ ।

    उनको घरवाट हत्यामा प्रयोग भएको रड र घरभित्र रगत लागेको सर्ट भेटिएको छ । मृतकको घर र लोकबहादुरको घर डेढ सय मिटरको दुरीमा छ । आरोपीलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ । घटनामा चिनेजानकै व्यक्तिको हात हुनसक्ने अनुमान गर्दै प्रहरीले सोही आधारमा अनुसन्धान थालेको थियो ।

    संखुवासभाको मादी नगरपालिका–१, खोला गाउँका एकै परिवारका छ जनाको गत सोमबार बिहान सामूहिक हत्या भएको थियो । स्थानीय तेजबहादुर कार्कीको परिवारका सदस्यको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो ।

    ५८ वर्षीया तेजबहादुर कार्की, उनकी आमा ८० वर्षीया पार्वता कार्की, श्रीमती ५६ वर्षीया मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दिपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको थियो ।

4565