• अविरल वर्षाका कारण पोखराका विभिन्न स्थानमा गएको पहिरोले घर बगाउँदा पाँच जनाको मृत्यु भएको छ । पोखरा–२० भलाममा चारजना र पोखरा–११ काहुँमा एक जनाको पहिरोमा परी ज्यान गएको हो । मृत्यु हुनेमा भलामको ¥याले चौरका ४५ वर्षीय कृष्ण श्रेष्ठ, उनकी ३५ वर्षीया श्रीमती सुनमाया तामाङ छन । उनीहरुका तीन वर्षीय छोरा सन्तोष बेपत्ता छन् ।

    नौ वर्षीय छोरा राजकुमारको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । भलामकै मुलाबारीमा घर माथिको ढिस्को खस्दा विष्णु सार्की र उनका आठ बर्षीय छोरा सुजन सार्कीको मृत्यु भएको छ । सो स्थानमा थप पाँच घरमा पूर्ण रुपमा क्षती पुगेको छ भने महेन्द्र माविसहित आठ वटा घरमा आंशिक क्षती भएको छ ।

    पोखरा–११ भन्ज्याङ नमुनाटोलस्थित एक घर पहिरोमा पुरिँदा ४२ वर्षीय लक्ष्य नेपालीको मृत्यु भएको छ । सोही वडाको कसेरीमा एक घर पहिरोमा पुरिँदा एकदेव तिमिल्सिना, उनकी श्रीमती रितु र छोरा गिरीश घाइते भएका छन । पोखरा ८ फिर्के खोलामा रहेको मोटरेवल समेत बाढीले बगाएको छ । वडा नम्बर ३ मा जमिन भासिएको छ । जमिन भासिँदा देउबहादुर पुन, छविबहादुर पुन र बलबहादुर पुनको घरमा क्षती पुगेको छ ।

4565