• दार्चुला घटना बारेमा नेपालले तयार पारेको प्रतिवेदनलाई भारतले नेपालको आन्तरिक प्रतिवेदन भन्दै त्यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरबिन्दम बाग्छीले सन्चार माध्यममा प्रतिवेदन देखे पनि आधिकारिक रुपमा जानकारी नभएको प्रतिक्रिया दिए ।

    उनले भारतीय सीमा सुरक्षा बलको संलग्नता छ भन्ने विषय आरोप मात्र भएको उल्लेख गरे । दार्चुलाको ब्यास गाउँपालिका–२ का जयसिंह धामी गत साउन १५ गते महाकाली नदी तर्ने क्रममा तुइनबाट पानीमा खसेर बेपत्ता भएका थिए । घटनामा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको डोरी काटिदिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

    गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले मंगलबार दिएको प्रतिवेदनमा घटनामा भारतीय सीमा सुरक्षा बल एसएसबीको संलग्नता रहेको उल्लेख गरिएको छ । समितिले उक्त घटनामा एसएसबीको उपस्थितिबारे अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

4565