• कोशी उकास क्षेत्रमा कबुलियती वन निर्माण गरिने भएपछि उदयपुरको बेलका नगरपालिका क्षेत्रका सुकुम्बासी बस्तीहरु विस्थापित हुने भएका छन् । बस्ती विस्थापित हुने भएपछि त्यस क्षेत्रका स्थानीयले चिन्ता व्यक्त गर्दै आफूहरुलाई नहटाउन माग गरेका छन् ।

    उदयपुरको बेलका नगरपालिका क्षेत्रमा पर्ने कोशी उकास क्षेत्रलाई संरक्षण गर्दै जडिबुटी खेती र कृषि पर्यटनमा जोड दिने उद्देश्यले सरकारले कबुलियती वन बनाउने निर्णय गरेको छ । यसबाट वर्षौंदेखि कोशीको उकास जमिनमा बसोबास गर्दै आएका सुकुम्बासीहरु विस्थापित हुने भएका छन् । स्थानीय बासिन्दाहरुले सरकारले कबुलियती वन निर्माण गर्दा आफूहरु विस्थापित हुने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

    सव–डिभिजन वन कार्यालय मैनामैनीले भने सुकुम्बासीहरुको बसोबास रहेको क्षेत्र कबुलियती वनका लागि सिफारिस नभएको बताएको छ । कोशीको उकास जमिन अन्तरगत नगरपालिकाको वडा नम्बर ३ तर्फको १ सय ७६ दशमलव २३ हेक्टर जमिन मात्रै कबुलियती वनका लागि सिफारिस भएको र उक्त क्षेत्रमा मानव वस्ती नरहेको कार्यालयको भनाई छ ।

    कबुलियती वन वनाउने निर्णयले आफूहरु विस्थापित हुने भन्दै सुकुम्वासी वस्तीका मानिसहरुले सघर्ष समिति बनाएर निर्णय फिर्ता गराउन सक्रियता बढाएका छन् । यस क्षेत्रमा करिब १ हजार ३ सय घरपरिवार बसोबास गर्दै आएका छन् ।

4565