• सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव मापन भएको छ । केहिदिन यता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव आज यस वर्षकै उच्च विन्दुमा पुगेको हो । कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको पछिल्लो मापन अनुसार सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेक प्रतिसेकेण्ड वहाव पुगेको छ ।

    नदीको बहाव बढेसँगको कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन । साउन ३२ गते कोशीमा यस वर्षकै बढी २ लाख ५६हजार २० क्यूसेक प्रतिसेकेण्ड वहाव मापन गरिएको थियो । पूर्वका अधिकांश भेगमा वर्षा जारी रहेकाले कोशीको जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

    चतरामा रहेको बाढी मापन केन्द्रले समेत नदीको जलस्तर बढ्दो क्रममा देखाएको छ । यसैबिच निरन्तरको वर्षासँगै कोशीको वहावमा निकै नै उतारचढाव देखिदा श्रीलंका टापु क्षेत्रमा नदीले कटान थालेको छ ।

    सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नदीले टापु क्षेत्रका केहि स्थानमा कटान गरेको खबर प्राप्त भएको बताए । उनका अनुसार गरैया टापुका २० घर परिवारलाई उद्दार गरी सुरक्षित स्थानमा सार्ने तयारी भैरहेको छ ।

4565