• अविरल वर्षासँगै आएको बाढी पहिरोले देशभरको जनजीवन प्रभावित भएको छ । तराईका विभिन्न क्षेत्र डुबानमा परेका छन् भने पहिरोले ठाउँ ठाउँमा राजमार्ग अवरुद्ध पारेको छ । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–४ माथिल्लो चारघरेमा पहिरोमा परेर एकै परिवारका तीन जना बेपत्ता भएका छन् भने एक जनाको गम्भीर अवस्थामा उद्दार गरिएको छ ।

    चारघरेका हस्तबहादुर पुलामीको घर माथिबाट आएको पहिरोले पुरिँदा ५० वर्षीया धनमाया पुलामी र उनका दुई नातिनीहरू ७ वर्षीया भूमिसरा र ६ वर्षीया देउमाया बेपत्ता भएकी हुन् । पहिरोमा परेर हस्तबहादुर गम्भीर घाइते भएका हुन् । बेपत्ता भएकाहरुको खोजी भइरहेको बताइएको छ । निरन्तर वर्षाका कारण पश्चिम नवलपरासीको सदरमुकाम परासी बजार पनि डुबानमा परेको छ । परासी हुँदै बगेको झरही र रावणखन्डा खोलाको बाढी परासी बजारमा पसेर बजार क्षेत्र डुबानमा परेको हो । बजारको अधिकांश स्थान जलमग्न भएका छन । बजारका सयौं घर डुबानमा परेका छन् । रामग्राम नगरपालिकाका अधिकाशं भुभाग समेत डुबानमा परेका छन ।

    बाढीले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सैनिक ब्यारेकसहित विभिन्न सरकारी कार्यालयमा पनि २ देखि ५ फिटसम्म पानी जमेको छ । जिल्लाको सरावल, पाल्हिनन्दन, प्रतापपुर, सुस्ता, बर्द्घाट नगरपालिकाका केही वडा पनि जलमग्न भएका छन भने पूर्वपश्चिम राजमार्गको ठाउँ–ठाउँमा सडक अवरुद्ध छन ।

    वर्षाकै कारण रुपन्देही, कपिलवस्तु र नवलपरासीको दक्षिणी क्षेत्रका अधिकांश स्थान डुबानमा परेका छन् । रुपन्देहीको बुटवल, तिलोत्तमा, सैनामैना, भैरहवा देवदहका अधिकांश भूभाग डुबानमा परेका हुन् । पुर्व पश्चिम लोकमार्गको देवदह –७ शितलनगर स्थित घोडाहा खोलाको पक्की पुल भासिएको छ । पुल भासिए पछि सडकको आवागमन ठप्प भएको छ ।

4565