• निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई दलको मान्यता दिएको छ । निर्वाचन आयोगबाट दुवै दलले दल दर्ताको प्रमाणपत्र पाएका छन् । दल दर्ताका लागि दिएको निवेदनमाथि आयोगले बुधबार दल विभाजनमा जान चाहनेहरुको सनाखत गराएर नयाँ दल दर्ता गरेको हो ।

    एमालेबाट छुट्टिएका संघीय संसदका ३० जना सांसदसहित ५५ जना केन्द्रीय सदस्य रहने गरी नेकपा (एकीकृत समाजवादी) दल दर्ता गरिएको निर्वाचन आयोगले जनाएको छ । एमालेबाट छुट्टिएर नयाँ दलमा जान चाहेका तीनजना सांसद सोमप्रसाद पाण्डे, शारदादेवि भट्ट र माया न्यौपानेको बारेमा भने आयोगले कुनै निर्णय गरेको छैन । उनीहरू अब वैधानिक रुपमा एमालेकै सांसद हुन्छन् ।

    माधवकुमार नेपाल नेतृत्वमा दल दर्ता प्रक्रिया अघि बढाउँदा उनीहरूको नाम समावेश नभएकाले आयोगले सनाखतमा समावेश नै नगराएको हो । त्यसैगरी महन्थ ठाकुरको दललाई जनता समाजवादी पार्टीबाट छुट्टिएका १४ जना संघीय सांसदसहित १७ जना केन्द्रीय सदस्य रहने गरी आयोगले मान्यता दिएको छ । अब आयोगले संसद सचिवालयलाई दल दर्ता भएको औपचारिक जानकारी पठाउने छ ।

4565