• अफगानिस्तानस्थित अमेरिकी दूतावासमा कार्यरत नेपालीहरु काठमाडौं आइपुगेका छन् । अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी राजदूतावासमा सुरक्षा गार्डको रूपमा कार्यरतमध्ये ११८ नेपालीहरू र ९ जना भारतीयको उद्धारपछि मङ्गलवार बिहान काठमाण्डू आइपुगेको हुन् ।

    अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि अमेरिकाले आफ्नो दूतावासमा कार्यरत कर्मचारीहरुको उद्दार गरेको थियो । त्यसक्रममा नेपालीहरुलाई पनि उद्धार गरेर कतारको दोहा पुर्याइएको थियो । उनीहरुमध्ये ११८ जना नेपाली र ९ जना भारतीय नागरिक कुबेत हुँदै मंगलबार विहान काठमाडौं आइपुगेका हुन् । दुई वर्षदेखि काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत मोहन गुरुङका अनुसार त्यहाँ मात्र करिव ५०० नेपाली कार्यरत थिए ।

    उनीहरू जजिरा एयरलाइन्समार्फत् आज बिहान १० बजेर १६ मिनेटमा विमानस्थल आइपुगेका हुन । काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत नेपालीलाई अमेरिकाले चार्टर्ड जहाजमा काठमाडौं पठाएको हो । तीन वर्षदेखि कार्यरत लालबहादुर पुन मगरले अवैधानिक रुपमा अफगानिस्तान पुगेका र अनौपचारिक क्षेत्रमा कार्यरत नेपालीहरुको पनि छिटो सरकारले उद्दार गरोस् भन्ने अपेक्षा राखेको बताए ।

    उनीहरूलाई अहिले नेपाली सेनाले राजधानीको सामाखुसीस्थित राधास्वामी सत्संग आइसोलेशन केन्द्रमा लगिएको छ । विद्रोही तालिबान समूहले अफगानिस्तानमा नियन्त्रण जमाएपछि त्यहाँका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । विभिन्न देशहरुले सेना पठाएर आफ्ना नागरिकहरुलाई उद्धार जारी राखेका छन् ।

4565