• धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारले छापा मारेको छ । बिहीबार अख्तियारको केन्द्रीय कार्यालय र इटहरीस्थित क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले छापा मारी महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ । औषधि, उपकरण खरिद, इन्टरनेट, विद्युत आपूर्ति लगायतका शीर्षकमा प्रतिष्ठानका पदाधिकारीले भ्रष्टाचार गरेको भन्दै चिकित्सक र कर्मचारीले लामो समयदेखि आन्दोलन गर्दै आएका थिए ।

    यस विषयमा अख्तियारको केन्द्रीय कार्यालयमा उजुरी पनि परेको थियो । प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरी र डा मोहनचन्द्र रेग्मी रजिष्ट्रार भएर आए यता बेथिति बढेको आन्दोलनरत पक्षको आरोप थियो । यसबारे छानबिन गर्न सरकारद्वारा गठित कार्यदलले पनि बीपी प्रतिष्ठानमा भ्रष्टाचार भएको ठहर गरेको थियो । प्रतिवेदनमा भ्रष्टाचारको आरोप लागेको संस्थाबाटै सामग्री खरिद गरिएको, १४ करोड ६० लाखको खरिदमा मूल्य सार्थकता सुनिश्चित नभएको, ८ गुणा महँगोमा एक दशकदेखि इन्टरनेट सेवा लिएको उल्लेख गरिएको छ ।

    यस्तै मिलेमतोमा एमआरआई, सिटी स्क्यान मेसिन खरिदमा पटक–पटक बोलपत्र रद्द गरेको, बिना प्रतिस्पर्धा प्रतिष्ठानको जग्गा निजी स्कुललाई भाडामा दिएको, उपकुलपति डा गिरीको योग्यताबारे छानबिन आवश्यक रहेको जस्ता विषय पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

4565