• अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व प्रवक्ता किरण राईले मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले उपाध्यक्ष पंकज विक्रम नेम्वाङलाई सामाजिक सञ्जालमा लगाएको आरोप अनुशासनको दायरा भन्दा बाहिर भएको बताएका छन् । फुटबल विवाद छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको छानबिन समितिलाई मंगलवार बयान दिएर बाहिर निस्कने क्रममा राईले प्रशिक्षकको अभिव्यक्ति अनुशासन भन्दा बाहिर भएको बताए । उनले एन्फामा देखिएको विवादलाई आफ्नै छानबिन, अनुशासन समिति लगायते समाधान गर्ने व्यवस्था विधानमा उल्लेख भए पनि सो अनुरुप नभएर तेस्रो पक्षलाई छानविन गर्न दिनु गलत भएको पनि बताए ।

    छानविन समितिले मंगलवार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासँग पनि बयान लिएको थियो । समितिले घटनामा संलग्न प्रत्यक्ष तथा अप्रत्यक्ष गरी १४ जनासंग बयान लिने सूची तयार पारेको छ । सूचिमा घटनामा प्रत्यक्ष संलग्न वरिष्ठ उपाध्यक्ष र मुख्य प्रशिक्षक पनि रहेका छन् । प्रशिक्षक अलमुताइरी भने पोखरामा रहेका छन् । मन्त्रालयको निर्देशन अनुसार राखेपले बोर्ड सदस्य पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिलाई ७ दिनभित्र छानबिन प्रतिवेदन बुझाउन खेलकुद मन्त्रालयले निर्देशन दिएको छ ।

4565