• प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले एक महिनासम्म केही गर्न नसकेको भन्दै सरकार देखि अदालतसम्मको चर्को आलोचना गरेका छन् । पहिलो पटक प्रतिपक्ष दलको नेताको हैसियतमा संसदको रोष्टममा उभिएका ओलीले अमेरिकी सहयोग (एमसीसी) सरकारको साझा न्यूनतम कार्यक्रममा उल्लेख नगरेको भन्दै आपत्ति पनि जनाए ।

    आफ्नो सरकार ढलेपछि पहिलोपटक संसद्मा बोल्दै एमाले अध्यक्ष केपी ओलीले सरकार बनेको एक महिनासम्म सरकारले केही गर्न नसकेको भन्दै आलोचना गरेका छन् । दसैँमा केटाकेटी आँगनमा नाचेजस्तो गरेर गठबन्धनका नेताहरु हौसिएको उनको टिप्पणी थियो ।

    ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यसअघि संसदमा गरेको टिप्पणीको जवाफ फर्काए । पुनःस्थापित संसदमा दाहालले आफू आगो भएकाले आगोसँग नखेल्न चेतावनी दिएका थिए ।

    ओलीले एमालेको माधव नेपाल समुहप्रति पनि कटाक्ष गरे । उनले एमालेकै केहि मान्छे पाउला र खाउला भने तपाईको पछि लागेहरुलाई मन्त्री बनाइदिन प्रधानमन्त्री देउवालाई आग्रह गरे ।  ओलीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता के गर्नुहुन्छ भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् । ओलीले सरकारको साझा न्यूनतम कार्यक्रममा एमसीसी उल्लेख नभएको भन्दै प्रश्न उठाएका छन् ।

    ओलीले आफू पुनः प्रधानमन्त्री बन्ने दावी पनि गरे । पूर्वप्रधानमन्त्री ओलीले आफूले फेरि व्यापक जनमत ल्याएर प्रधानमन्त्री बन्ने दावी गरे ।ओलीले सरकारको न्यूनतम साझा कार्यक्रमलाई सडकतिर बाँडेको कागज भनेर टिप्पणी गरे । उनले न्यूनतम साझा कार्यक्रम संसदमा ल्याउन नसकेको भन्दै आलोचना समेत गरे । ओलीले अहिले सरकार र प्रतिपक्षी दलबीच सम्वादहीनताको स्थिति रहेको भन्दै संसदबाट प्रतिपक्षलाई धम्क्याएर राष्ट्रिय सहमति हुन नसक्ने बताए ।

4565