• बागलुङका नेवार समुदायले शुक्रवार घण्टाकर्ण पर्व मनाएका छन । नेवा ल्याम्ह पुच बागलुङको आयोजनामा दोबाटो र चौबाटोमा नर्कटको तीनखुट्टे लिंगाकृति गठांमो ठड्याई गठेमंगल अर्थात घण्टाकर्ण पर्व मनाइएको हो ।

    यस पर्वलाई नेवार समुदायले ‘सिनाज्या ब्यंकेगु’ अर्थात् रोपाइँ सकिएको पर्वको रूपमा मनाउने गर्दछन् । तर यो वर्ष कोरोना महामारीका कारण त्यति भिड र उल्लास छैन । नेवार समुदायले बिहानै घरमा लिपपोत गर्नुका साथै शुद्ध भएर विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँको जल ल्याएर घरघरमा छर्कने प्रचलन छ । नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरु गरिनुका साथै गाईजात्रामा प्रदर्शन गरिने विभिन्न भैरव नाच तथा व्यंग्यले भरिपूर्ण नाटकको प्रशिक्षण समेत दिइन्छ । कोरोनाको जोखिम छल्दै आफ्नो पुस्तैनी परम्परा धान्नकै लागी भएपनि पर्व मनाएको सहभागिका ेभनाई छ ।

    पहिले–पहिले बागलुङ बजारका चोकचोकमा घण्टाकर्ण निकाल्ने गरिन्थ्यो । यसैत परम्परा जोगाउनै धौधौ परेका बेला कोरोना महामारीले थप प्रतिकूलता सिर्जना गरेको छ । झण्डै २ सय ३५ वर्षअघि भक्तपुर, बनेपालगायतका ठाउँबाट बागलुङ बसाइँसराइ गरी आएका नेवारहरुले परम्परागत जात्रा र पर्वहरु भित्र्याएको नेपाल भाषा मंकाःखलः बागलुङका पूर्व अध्यक्ष काजी गाउँले श्रेष्ठले बताए । नाग नागिनीसहित कतिपय नाच हराइसकेका छन् । पछिल्लो समय लाखे नाच्ने कलाकारको पनि खाँचो खड्किएको छ ।

4565