• अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिंकेन र तिब्बती बौद्ध धर्म गुरु दलाई लामाका प्रतिनिधिबीच भारतमा भएको भेटप्रति चीनले आपत्ति जनाएको छ । चिनिया विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले तिब्बतको विषय सम्पूर्ण रुपमा चीनको आन्तरिक मामिला हो र यसमा कुनै पनि विदेशी हस्तक्षेप स्वीकार गर्न नसकिने बताएका हुन ।

    दलाई लामा एक धार्मिक मात्रै नभएर राजनीतिक रुपले निर्वासित एक व्यक्ति रहेको उनको भनाइ छ । लामो समयदेखि लामा चीन विरोधी गतिविधिमा संलग्न रहेको चीनको दाबी छ । अमेरिकाले आफ्नो प्रतिवद्धतामा कायम रहनुपर्ने प्रवक्ता लिजियानले बताए । चीन आफ्नो हितको रक्षाका लागि हरेक कदम उठाउन तयार रहने पनि उनको भनाइ छ ।

    भारतमा रहेको तिब्बतको निर्वासित सरकारलाई गत वर्ष अमेरिकाले औपचारिक मान्यता प्रदान गरेको थियो । त्यसमा समेत चीनले आपत्ति जनाएको थियो । गत जुलाई ६ तारिखमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दलाई लामाको जन्मदिनको अवसरमा शुभकामना दिएकोप्रति पनि चीनले कडा आपत्ति जनाएको थियो । दलाई लामा आफ्ना अनुयायीहरुसहित भारतको धर्मशालामा बस्दै आएका छन ।

4565