• कोरोना संक्रमणका बेला स्थानिय विपन्न परिवारलाई बाडन भनेर खरिद भएको चामल नगरपालिकाले वितरण नै नगरी गोदाममै कुहाए पछि स्थानियले रौतहटको देवाही गोनाही नगरपालिकामा ढुङ्गामुढा गरेका छन ।

    देवाही गोनाही नगरपालिकाले गरिव, असहाय, दलित समुदायका जनतालाई राहत दिन खरिद गरिएको खाद्यान्न सामग्रीहरु लक्षित वर्गलाई वितरण नगरी गोदाममै कुहाएपछि गएरातिको खाडल खनेर नष्ट गरेको थियो । कोरोनाकालका बेला भोकभोकै बसेका जनताको भागको चामल कुहाएर नष्ट गरेको खबर पछि स्थानियले आज नगरप्रमुखलाई कार्यालय भित्रै राखेर ढुङ्गामुढा र तोडफोड गरेका हुन ।

    खान नपाएर भोकभोकै भएका स्थानियको भागलाई गोदाममै कुहाएर माटोमा गाडेको प्रति स्थानियले आक्रोश पोखेका छन । नगरपालिकाको आर्थिक सहयोगमा खरिद गरेर भण्डारण गरिएका खाद्यान्न सामग्रीहरु कुहिए पछि कुरा अरुले चाल नपाओस भन्दै रातिको समयमा भण्डारण गरिएको संग्रहालयको हाता भित्र जेसिभीले खाल्डो खनेर मेयर धर्मेन्द्र पटेलले पुरेको आरोप वडा नम्वर ४ का वडाध्यक्ष रामप्रवेश पटेलले लगाए ।

    नगरप्रमुख पटेलले आफू खुशी खाद्यान्न सामग्रीहरु खरिद गरेर आफ्ना आसेपासेहरुलाई मात्रै वितरण गरी बाँकी रहेको करिव ५ सय बोरा चामल, दाल लगायतका सामग्रीहरु महिनौं सम्म गोदाममै कुहाएर राखेका थिए । लामो समय सम्म समय थन्कीएको सो खाद्यान्न कुहिएर गन्हाउन थाले पछि मेयर पटेलले सोमवार रातिको समयमा खाल्डो खनेर पुर्न लगाएका थिए । जनप्रतिनिधि भएर पनि स्थानियलाई सरकारको प्रत्याभुति गराउन नसकेको र खाद्यान्न कुहाएर पुरेको घटना निन्दनीय रहेको स्थानीयले बताए ।

    यता देवाही गोनाही नगरपालिकाको मेयर धर्मेन्द्र पटेलले कोभिडको समयमा खरिद गरिएका खाद्यान्न सामग्रीहरु राहतको प्याकेट बनाएर २ हजार भन्दा बढि सोही समयमा वितरण गरेको र बाकी रहेका चार सय भन्दा बढि बोरा चामल सहितका खाद्यान्न भण्डारण गरिएको संग्राहलयको झ्याल खुलेका कारण पानीले भिजेर परेर करिव २० बोरा कुहिएर गन्हाउन थाल्दा त्यसलाई जेसिभीको मद्दतबाट खाल्डो खनेर हिजो साझ पुरिएको स्वीकार गरेका छन ।

    कोविड १९ को मारमा रहेका जनतालाई समयमै खाद्यान्न वितरण गर्न नसक्नु र ठूलो परिमाणको खाद्यान्न कुहिनीमा मेयर पटेलकै दोष रहेको स्थानियको आरोप छ । मेयर पटेलले भने आफ्नो गल्ती भन्दा पनि उपमेयरले अनावश्यक रुपमा स्थानियलाई उचालेर आन्दोलन गर्न लगाएको बताए । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।

4565