• सरकारले गण्डकी र लुम्बिनी प्रदेशको प्रदेश प्रमुख हेरफेर गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेकोे हो । यसअघि सरकारले केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेकामध्ये गण्डकी प्रदेश प्रमुख सीता पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

    यस्तै योजना आयोगको उपाध्यक्षमा विश्वनाथ पौडेल नियुक्त भएका छन् । ओली सरकारले नियुक्त गरेका डा.पुष्प कँडेललाई हटाएर पौडेललाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । यसैगरि आयोगको सदस्यहरुमा राम कुमार फुयाल र दिल बहादुर गुरुलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

    यस्तै नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले शर्मालाई साउन २५ देखि लागु हुने गरी कायममुकायमको जिम्मेवारी दिइएको हो । हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २४ भदौबाट अनिवार्य अवकाश पाउँदैछन् । अवकाशको एक महीना अघि विदा बस्ने परम्परा अनुरुप उनले २४ साउनबाट विदा बस्ने तयारी गरेका थिए । थापाको औपचारिक विदाइ भने २५ भदौमा हुनेछ ।

4565