• नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई राज्यमन्त्रीको शपथ गराएका हुन् । शपथपछि राज्यमन्त्री श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता कोरोना विरुद्धको खोप ल्याउने र खोपको वितरणलाई प्रभावकारी बनाइने रहेको बताए ।

    कोरोना महामारीको समयमा लामो समय स्वास्थ्य मन्त्रालय रिक्त हुँदा खोप लगायतका काम प्रभावित बनेको भन्दै स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले गुनासो गरेपछि देउवाले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका हुन् । योसँगै मन्त्रिपरिषदको संख्या ६ सदस्यीय भएको छ ।

    नेपाली कांग्रेसका समानुपातिक तर्फका सांसद श्रेष्ठ व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका हुन् । सांसद श्रेष्ठ प्याब्सन र उच्च माध्यमिक विद्यालयहरूको संगठन (हिसान) का संस्थापक अध्यक्षसमेत हुन् । भोजपुर घर भएका श्रेष्ठको थुप्रै व्यवसायिक क्षेत्रमा लगानीसमेत छ । दोस्रो संविधानसभामा उनी राष्ट्रपतिबाट संविधानसभा सदस्यमा मनोनित भएका थिए ।

4565