• अमेरिकाले राजनीतिक अस्थिरता र भ्रष्टाचारका कारण नेपालमा लगानीको वातावरण बन्न नसकेको बताएको छ । अमेरिकाको विदेश मन्त्रालयले हालै सार्वजनिक गरेको ‘ट्वान्टी, ट्वान्टी–वान इन्भेस्टमेन्ट क्लाइमेट स्टेटमेन्ट’अन्तरगतको नेपाल प्रतिवेदनमा यस्तो दाबी गरिएको हो । प्रतिवेदनमा नेपालमा ऊर्जा, पर्यटन, सूचना तथा सञ्चार प्रविधि, कृषि एवम् पूर्वाधार विकासको क्षेत्रमा विदेशी लगानी गर्न सकिने सम्भावना भए पनि सरकारी दृढता पर्याप्त नभएका कारण नेपालप्रति वैदेशिक लगानी आकर्षित हुन नसकेको जिकिर पनि गरिएको छ ।

    त्यस्तै, झन्झटिलो कानुनी प्रक्रिया, राजनीतिक दलआबद्ध मजदुर संगठनले बेलाबेलामा गर्ने आन्दोलन, राजनीतिक दलभित्रका विवादसमेत नेपालमा वैदेशिक लागनी भित्रन नसक्नुका कारण भएको प्रतिवेदनको ठहर छ । त्यस्तै, मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबारेको प्रस्ताव नेपालको संसदबाट अहिलेसम्म अनुमोदन गर्न नसकिएकोप्रति पनि अमेरिकाले चासो व्यक्त गरेको छ । उसले लामो समयसम्म एमसीसी नेपालको संसदमा पारित नहुँदा विश्वव्यापीरुपमा राम्रो सन्देश नगएको पनि बताएको छ ।

    कोरोना भाइरसको महामारीले पनि नेपाललाई आर्थिक लगानीको मजबुद् गन्तव्य बनाउने प्रयासमा समेत सुस्तता ल्याएको प्रतिवेदनमा उल्लेख गरिएको छ । मुलुकमा व्याप्त भ्रष्टाचार, विदेशी बैंकहरुको परिचालनलाई सीमित पार्ने कानुन, नाफाको पुनस्र्थापनामा रहेको चुनौती, सीमित मुद्रा विनिमय सुविधा, विद्युत प्रशारण र पेट्रोलिम पदार्थको वितरण जस्ता अर्थतन्त्रका प्रभावशाली क्षेत्रमाथि सरकारको एकाधिकार रहनाले लगानीको वातावरणलाई थप प्रभावित पारेको निश्कर्ष प्रतिवेदनको छ ।

4565