• नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधव नेपालसहितका सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ । आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री देउवाले विश्वासको मत माग्दा एमालेका माधवकुमार नेपालसहितका २२ जना सांसदले मतदान गरेका थिए । तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । ज्ञवालीले फ्लोर क्रस गर्नु पार्टी अनुशासन र जनमत विपरीतको काम भएको बताए ।

    केन्द्रीय कमिटिको बैठकमा अध्यक्ष केपी ओलीले प्रतिक्रियावादी शक्तिहरुले पार्टी भित्रकै केही महत्वकांक्षीहरुलाई प्रयोग गरेर एमालेलाई विभाजन गर्ने षडयन्त्र गरिरहेको बताएका छन् । उनले केही राजनीतिक दलहरुले आफ्नो अस्तित्व रक्षाका लागि एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामहरुको विरोध गरेको बताए ।

    बैठकमा ओलीले उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामाका बारेमा समेत चर्चा गरेका थिए । ओलीले राजीनामा दिने निर्णय रावलले हतारमा गरेको भन्दै फिर्ता गर्न प्रयास गर्नुपर्ने बताएका थिए । केन्द्रीय कमिटी बैठक बसिरहेको बेला बैठकस्थल तुल्सीलाल स्मृति प्रतिष्ठानबाहिर कार्यकर्ताले जनमतको अपमान गरेको भन्दै माधव नेपालसहितका नेतालाई कारवाहीको माग गर्दै प्रदर्शन गरेका थिए । यसैबीच केन्द्रीय कमिटी बैठकले विघटित कार्यदलले पेस गरेको पार्टी एकताको १० बुँदे सहमति अनुमोदन गरेको छ । बैठकले १० बुँदे सहमति कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । बैठक भोलि ३ बजे पुन बस्नेछ ।

4565