• अमेरिकी राष्ट्रपति जो बाइडेनले सामाजिक सञ्जाल मार्फत फैलिरहेको कोरोना भाइरस र त्यसविरुद्धको खोप सम्बन्धी गलत सूचनाले मानिसहरुको ज्यान लिइरहेको बताएका छन् ।

    कोभिड–१९ विरुद्धको खोप लिन मानिसहरुले आनाकानी गरिरहेका बेला सामाजिक सञ्जाल मार्फत फैलिरहेका गलत सूचना कारक रहेको र त्यसको मूल्य मानिसहरुको ज्यानका रुपमा चुकाउनु परेको भन्दै बाइडेनले चेतावनी दिएका हुन् । पत्रकारले खोप सम्बन्धी गलत सूचना प्रवाहित गर्नमा फेसबुकसहितका सामाजिक सञ्जालको भूमिकालाई लिएर गरेको प्रश्नको जवाफ दिने क्रममा राष्ट्रपति बाइडेनले यस्तो बताएका हुन् ।

    राष्ट्रपति कार्यालय ह्वाइट हाउसले गलत सूचना नियन्त्रण गर्न वा फैलिन नदिनका लागि सामाजिक सञ्जालहरुमाथि दबाब बढाउँदै लगेको छ । फेसबुकले सार्वजनिक स्वास्थ्य सम्बन्धी गलत जानकारी नियन्त्रणका लागि आक्रामक रुपमा काम गरिरहेको दाबी गरेको छ ।

    अमेरिकामा पछिल्लो समय फेरि कोरोना भाइरसको संक्रमण तथा त्यसका कारण हुने मृत्यु बढ्दो क्रममा देखिएको छ । आधिकारिक तथ्यांक अनुसार अहिले संक्रमित हुने तथा त्यसका कारण मृत्यु हुनेमा अधिकांश (९९.२ प्रतिशत) खोप नलगाएकाहरु छन् । विशेष गरि रिपब्लिकनहरुको बाहुल्यता रहेका राज्यहरुमा खोप नलगाउनेहरु धेरै छन् । खोप राजनीतिक विषय बनाईँदा समस्या भएको विज्ञले बताउँदै आएका छन् ।

4565