• जनता समाजवादी पार्टी (जसपा) विभाजन नजिक पुग्दा दुइ पक्षबीच सांसद र नेताहरुलाई आफ्नो पक्षमा पार्न तानातान सुरु भएको छ । पाँच दलीय गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेसँगै जसपाको उपेन्द्र यादव समूहले महन्थ ठाकुर समूहमा रहेका सांसदहरुलाई आफ्नो पक्षमा तान्न थालेको छ ।

    महन्थ ठाकुर पक्ष भने सांसद र नेता जोगाउन हरसम्भव प्रयास गरिरहेको छ । शनिबार बालकुमारीस्थित पार्टी कार्यालयमा जसपा उपेन्द्र पक्षको संसदीय दलको बैठकमा महन्थ समूहमा लागेका पाँच जना सांसद सहभागी भएपछि ठाकुर समूहमा खैलाबैला मच्चिएको छ । बैठकमा यसअघि ठाकुर समूहतर्फ लागेका सांसदहरु रुही नाज, अमृता अग्रहरि, प्रमोद साह, रानी मण्डल र नरमाया ढकाल सहभागी भएका थिए ।

    यसअघि केपी ओली नेतृत्वको सरकारमा जाने क्रममा ठाकुर समूहले करिब २० जना सांसदहरु आफ्नो पक्षमा तानेको थियो । तर सर्वोेच्चको आदेशबाट ठाकुर समूह ओली सरकारबाट बाहिरिएसँगै यादव पक्षले सांसदहरुलाई तान्न थालेको हो । पछिल्लो पटक ओली पनि सत्ताबाट बाहिरिएपछि उपेन्द्र यादव समूह देउवा नेतृत्वको सरकारमा जाने तयारीमा छ ।

4565