• पूर्व राष्ट्रपति ज्याकोब जुमालाई जेल चलान गरिएपछि दक्षिण अफ्रिकामा भएको हिंसात्मक प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ । जुमा जेल चलान भएपछि दक्षिण अफ्रिकाका विभिन्न क्षेत्रमा हिंसात्मक प्रदर्शन भइरहेको छ ।

    प्रदर्शनको क्रममा लुटपाट समेत भएको छ । सोवेतोमा रहेको सपिङ्ग सेन्टरमा सोमबार राति लुटपाटपछि भएको भागदौडका क्रममा १० जना मारिएका थिए । गएको हप्तादेखि दक्षिण अफ्रिकामा प्रदर्शन तथा भिडन्त भइरहेको छ । अहिले हिंसा नियन्त्रणका लागि प्रहरीलाई सघाउन सेना परिचालन गरिएको छ ।

    प्रहरीले दंगा भड्काउन मुख्य भूमिका खेल्ने १२ जनाको पहिचान गरिएको जनाएको छ । यस्तै १२ सय जनाभन्दा बढिलाई नियन्त्रणमा लिइएको पनि प्रहरीले जानकारी दिएको छ । राष्ट्रपति सिरिल रामाफोसाले अहिले दक्षिण अफ्रिकामा सन् १९९० को दशक यताकै ठूलो हिंसात्मक गतिविधि देखिएको बताएका छन् ।

    राजमार्गहरु बन्द गरिएका छन् भने प्रमुख शहरका पसल तथा गोदामहरुमा लुटपाट र आगजनी भएको छ । लुटपाट कायम रहेमा चाँडै नै अत्यावश्यक सामग्रीको अभाव हुने मन्त्रीहरुले बताएका छन् । अहिलेसम्म कम्तीमा २०० सपिङ्ग मलमा लुटपाट भएको छ ।

4565