• तनहुँको बन्दीपुरमा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले घर पुरिँदा ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको मृत्यु भएको हो । गए राति पहिरोले घर पुरिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

    सरस्वतीका ससुरा दिलबहादुर मगर, सासू दाउरीमाया मगर र देवर सुवास थापा घाइते भएका छन् । पहिरोका कारण गाउँका अन्य चार घर जोखिममा परेका प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर घाइते भएकामध्ये एक जनाको अवस्था चिन्ताजनक छ । यसैबीच तनहुँको ब्यास नगरपालिका वडा नम्बर १ र वडा नम्बर १३ जोड्ने छाब्दी दोभानको पक्की पुल बाढीले बगाएको छ ।

    छाब्दी खोलामा गएराति आएको बाढी पुल बगाएपछि बेलबास, पोखरीभञ्ज्याङ्, बेनिकोट, गुदि लगायत स्थानका बासिन्दालाई आवतजावतमा समस्या भएको छ । पुल बगाएपछि बुद्ध सिंह मार्ग र केशवटार मार्गमा चल्ने गाडीहरु सञ्चालनमा रोक लगाइएको छ ।

4565