• नेकपा एमालेले राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा बुधबार बसेको आयोजक कमिटीको बैठकले कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतको जेठ १४ गतेको फैसलाले महाधिवेशन आयोजक कमिटीको वैधानिकतामाथि प्रश्न उठाएपछि बैठकले सो कमिटीलाई खारेज गरेको हो । कमिटी खारेज भएसँगै माधवकुमार नेपाल पक्षलाई गरिएको कारबाही पनि खारेज भएको छ ।

    बैठकले एमालेबाट रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्त तथा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापालाई स्थायी कमिटी सदस्य बनाउने निर्णय समेत गरेको छ । बैठकले वरिष्ठ नेता झलनाथ खनालको उपचारको जिम्मा पार्टीले लिने निर्णय गरेको छ । एमालेको केन्द्रीय कमिटी बैठक असार १८ गते बस्ने छ ।

4565