• रौतहटको दुर्गाभगवति गाँउपालिकामा शुक्रवार जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका दिन दलित युवकलाई डोरीले बाधेर कुटपिट गर्दै गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ । दुर्गा भगवति गाँउपालिका ५ का ती युवकलाई छिमेककै एक युवतीलाई जिस्काएको आरोपमा कुटपिट भएको भिडियोमा देख्न सकिन्छ ।

    कुटाइ खाने युवा रौतहटको दुर्गा भगवती गाउँपालिका ५ का १९ वर्षिय विकास पासवान हुन् । उनले घर छेउकै एक युवतिलाई पटक पटक फोन गर्न नम्बर पठाउने र जिस्काउने काम गरेको भन्दै स्थानिय राजदेव गिरीले कुटपिट गरेका हुन । डोरीले दुवै हात बाधेर पासवानलाई आफ्नो गल्ती स्वीकार गर्न दबाब दिदा अस्वीकार गरेपछि गिरीले उनलाई निर्घात कुटपिट गरेको युवक पासवानले बताए ।

    समाजमा छोरी बुहारी जिस्काउने, अभ्रद शब्दहरु प्रयोग गर्ने र विकृति फैलाउनेलाई तह लगाउनु पर्छ भनेर छानबिन तथा फैसला सुनाउन गाउकै भद्रभलादमी बसेर पंचायति गर्ने निर्णय भएको राजदेव गिरीले बताए । प्रहरी नियन्त्रणमा रहेका गिरीले युवकलाई दलित भनेर नकुटेको तर गाँउका चेलिबेटिलाई कुदृष्टी राखेकोले समाजको निर्णय अनुसार नै शारीरिक दण्ड दिएको बताए ।

    जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) शिद्धिविक्रम शाहले कुटपिटबारे हाल सम्म उजुरी नआएको बताए । घटनाका बारेमा पीडित युवकले जानकारी गराए पछि उनको स्वास्थ्य जाँच गरिएको र घटनामा संलग्नको आरोपमा तिन जनालाई नियन्त्रणमा लिएको उनले बताए ।

    कुटपिट गर्ने ५० वर्षका राजदेव गिरी ३२ वर्षिय लालु सिंह र ३० वर्षिय रंजन गिरीलाई पक्राउ गरिएको छ । पंचायति गर्ने र कसैलाई शारिरीक, आर्थिक दण्ड दिने अधिकार कानूनले कुनै व्यक्तिलाई नदिएकोले कुटपिट गर्नेलाई जाहेरी बमोजिम अनुसंधान गर्दै कारवाही गर्ने बताए ।

4565