• सुनसरीको धरानमा बिहीबार साँझ घरेलु हतियारसहित आएको समूहले अस्थायी प्रहरी चौकीमा आक्रमण गरेको छ । तरबार, खुकुरी, भालासहित आएको समूहले धरान १५ मा रहेको अस्थायी चौकीका प्रमुख असई सुमन दाहालमाथि आक्रमण गरेको हो ।

    स्थानीयवासी बीचमा भएको झगडाका विषयमा छलफल चलिरहँदा एक दर्जनको समूहमा आएका युवाहरुले चौकी प्रमुख दाहालमाथि आक्रमण गरेका हुन् ।

    दुई समूहबीचको विवादका क्रममा घरेलु हतियारसहित आएको समूहले प्रहरी चौकीका असई दाहाललाई आक्रमण गरेको सुनसरीका प्रहरी प्रमुख कमल थापाले बताए । घटना भएको बेला अस्थायी प्रहरी चौकीमा ४ जना प्रहरी मात्रै थिए ।

    घाइते असईको अहिले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनको देब्रे हातको नाडीमा खुकुरीले काटिएको छ ।

    घटनाबारे प्रहरीले थप केही जानकारी दिएको छैन । स्थानीयवासीले बताएअनुसार जाहेरी दिन आएका व्यक्तिलाई खोज्दै प्रहरी चौकीमा प्रवेश गरेका दर्जन बढी हतियारधारी युवाहरुले आक्रमण गरेका प्रारम्भीक जानकारीप्राप्त भएको छ।

4565