• कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा अवधि एक हप्ताका लागि थपिएको छ । मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायम रहने निर्णय गरेका हुन् । संक्रमण नघटेको र आवागमन पनि कायमै रहेको निष्कर्ष निकाल्दै निषेधाज्ञा थप गरिएको हो ।

    थपिएको निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न पाइने छैन । सागसब्जी, माछामासु र दूधका लागि बिहान ९ बजेसम्म पसल खोल्न पाइने काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा उल्लंघन गर्नेलाई नयाँ अध्यादेशअनुसार कारबाही हुने जनाएको छ । केही दिनअघि जारी भएको अध्यादेशमा निषेधाज्ञा कार्यान्वयनमा बाधा पु¥याए १ वर्ष र उल्लंघन गरे ६ महिना कैद हुन सक्ने र आदेश नमान्ने व्यक्तिलाई एक लाख रुपैयाँ र संस्थालाई पाँच लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरिएको छ ।

    अब सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायक संस्थाका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउनेछन् । प्रशासनले निर्माण कार्यका सवारीसाधन पनि सञ्चालनमा रोक लगाएको छ । देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरेको एक महिना दिन बित्न लाग्दा पनि कोरोना संक्रमण दर भने घटन सकेको छैन । अहिले पनि औसतमा दैनिक ८ हजार संक्रमित थपिइरहेका छन् । थप गरिएको निषेधाज्ञा जेठ १४ गते बिहान १ बजेदेखि जेठ २० गते मध्यरातसम्म कायम रहने छ । आगामी एकसाताको परिस्थिती हेरेर थप निर्णय गर्ने निष्कर्षमा तीनै जिल्ला प्रशासन पुगेका छन् ।

4565