• अविश्वासको प्रस्तावमा मतविभाजन नै नभई गण्डकी प्रदेश सभा अनिश्चितकाल लागि स्थगित गरिएको छ । जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य खिमविक्रम शाहीको अवस्था अज्ञात रहेको भन्दै सभामुख नेत्रनाथ अधिकारीलाई जीवन रक्षाको माग गर्दै निवेदन दिएपछि बैठक स्थगित भएको हो ।

    प्रदेश सभा सचिव हरिराज पोखरेलले सूचना जारी गर्दै प्रदेश सभाको कारबाही अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी दिएका छन् । आजको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्तावमा मत विभाजन हुने कार्यसूची रहेको थियो । तर मत विभाजन नै नभई सांसद बेपत्ता भएको भन्दै प्रदेश सभा बैठक अनिश्चितकाल लागि स्थगित भएको छ ।

    यसैबीच बेपत्ता भएको भनिएका सांसद शाही अस्पतालको ‘आईसीयू’मा भेटिएका छन् । उनको पोखरास्थित चरक अस्पतालको कोरोना वार्डको आईसीयूमा उपचार भइरहेको छ । हिजो गरेको पीसीआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

    यसैबीच नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना रिपोर्ट नेगेटिभ भएका सांसद शाहीलाई अस्पतालमा बन्दी बनाइएको आरोप लगाएका छन् । प्रवक्ता शर्माले स्वस्थ रहेका सांसद कसरी अस्पताल भर्ना भए भनेर प्रश्नसमेत उठाएका छन् । उनले यस घटनालाई अविश्वासको मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दी भएको टिप्पणी समेत गरेका छन् ।

4565