२०७२ को भूकम्पले भत्किएपछि पुनर्निर्माण गरिएको धरहराको आज प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले एक कार्यक्रमका बीच शिलालेख अनावरण गर्दै धरहराको उद्घाटन गरेका हुन् ।
उद्घाटनपछि ओलीले धरहराको बालकोनीमा पुगेर पुष्पबृष्टि गरेका थिए । धरहरा उदघाटन गरिए पनि पुननिर्माणका सवै काम नसकिएकाले सर्वसाधारणले तत्काल चढेर अवलोकन भने गर्न पाउने छैनन् । २०७२ सालको भूकम्पले नौ तले धराहरा भत्किएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिले रहेकै स्थानमा २२ तले धरहरा निर्माण गरेको हो ।
बाहिरबाट भने धरहरा ११ तले देखिन्छ । पुनर्निर्मित धरहरामा सुनको जलप लगाइएको गजुर बुधबार राखिएको थियो भने २२ औं तलामा पहिलेकै शिवलिंग राखिएको छ । धरहराको दुई वटा लिफ्ट र रंगरोगनको काम सकिएको छ । पार्किङ क्षेत्र, बगैंचा निर्माणलगायतका काम जारी छ । ३ अर्ब ८ करोडको लागतमा ४२ रोपनी क्षेत्रफलमा धरहरासहित पार्क निर्माणको काम भइरहेको हो ।