• राम नवमीका अवसरमा चितवनको माडी अयोध्यापूरीमा नवनिर्मित मन्दीरमा भगवान राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति राखिएको छ । संस्कृति तथा पर्यटनमन्त्री भानुभक्त ढकाल, प्रदेश नं. २ का प्रमुख डा. राजेश अहिराज, बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौडेलसहित हजारौं सर्वसाधारणको उपस्थितीमा माडी नगरपालिका–९ स्थित कृष्णनगरमा बनाइएको मन्दिरमा मूर्ति राखिएको हो ।

    अहिले राखिएका मूर्तिलाई पछि मूल मन्दिर बनाएर राख्ने योजना रहेको अयोध्याधाम प्रचारसमितिले जनाएको छ । मूर्तिसहितको रथयात्रा टोली दिउँसो ३ बजे माडी आइपुगेको थियो । मूर्तिहरुलाई माडीमा लगेपछि परशुराम कुण्डको जलले अभिषेक गरिएको थियो ।

    मंगलवार विहान प्रधानमन्त्री केपी ओलीले मूर्तिहरुको पूजाआजा गरेर बालुवाटारबाट रथयात्राको विदाई गरेका थिए । गत असार २९ गते प्रधानमन्त्री ओलीले रामको जन्म माडीको अयोध्यापुरीमा भएको भन्ने अभिव्यक्ति दिएपछि त्यहाँ राम मन्दिर स्थापना गर्ने प्रक्रिया शुरू भएको थियो । प्रधानमन्त्री ओलीको निर्देशनमा तीन महिना अगाडि नै बालुवाटारमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति बनाइएको थियो ।

4565