• प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई सरकार ढल्छ भन्ने चिन्ता नभएको बताएका छन । नेपाल उद्योग वाणिज्य महासङ्घको पचपन्नौँ वार्षिक साधारणसभामा प्रधानमन्त्री ओलीले आफुलाई अहिले नै हटाइहाले पनि कुनै चिन्ता नभएको र अंकगणितलाईलाई वरपर पार्न खोज्ने खालका शकुनीका गोटी पनि फ्यालिने बताए । उनले उद्योगी व्यवसायीहरुलार्ई राजनीतिको विषयमा चिन्ता नगरी आफ्नो काममा मात्र ध्यान दिन सुझाव समेत दिए । उनले व्यापार असन्तुलन घटाउने का साथै उद्योगमेत्री वातावरण बनाउन तर्फ वर्तमान सरकार गम्भीर भएर लागेको पनि समेत बताए ।

    प्रधानमन्त्री ओलीले खुद्रा लगानीबाट समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार तुल्याउन कठिन हुने भन्दै वैदेशिक लगानीका रुपमा ठूलो धनराशि भित्रियोस् भन्ने उद्देश्यले सरकारले न्यूनतम वैदेशिक लगानीमा सीमा तोकेको स्पष्ट पारे । यसैगरी प्रधानमन्त्रीले सरकारको पहिलो प्राथमिकता नागरिकको स्वास्थ्य रहेको बताउदै कोरोनाबाट बच्न स्वास्थ्य मन्त्रलायले दिएका निर्देशन पालना गर्न आग्रह समेत गरे ।

    कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले आर्थिक रुपान्तरणका कार्यक्रमहरुलाई कार्यान्वयन गर्न सरकारीस्तरबाट पनि सहयोग हुनुपर्नेमा जोड दिए । साना तथा मझौला उद्योगका समस्या समाधानका साथै औद्योगिक उन्नयनका निम्ति निजी क्षेत्रले सरकारी सहयोगको अपेक्षा गरेको उनको भनाई थियो ।

    कार्यक्रममा प्रधानमन्त्री ओलीले महासङ्घको प्रकाशन ‘राष्ट्रिय आर्थिक रुपान्तरण–२०३०’ पुस्तक सार्वजनिक गर्नाका साथै निर्यात व्यापार, पर्यटन, निर्माण, उत्पादनका क्षेत्रमा योगदान गरेका उद्योगीहरुलाई सम्मान गरेका थिए ।

4565