• प्रधानमन्त्री केपी ओलीले समर्थन फिर्ता लिएमा आफू राजीनामा दिन तयार रहेको बताउनुभएको छ । शनिबार बालुवाटारमा एकैपटक १६५ सडकको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफ्नो राजीनामाको चर्चा चलाउने गरेको भन्दै आफ्नो सरकारलाई दिएको समर्थन फिर्ता भए राजीनामा दिने बताउनुभएको हो ।

    प्रधानमन्त्री ओलीले देश र जनताको आवश्यकताका आधारमा ताजा जनादेशमा जान सकिने धारणा पनि राख्नुभयो । संसद्को अंगकणित राष्ट्रको आवश्यकता अनुसार भएन भने ताजा जनादेशमा जानुको विकल्प नहुने उहाको भनाई छ । ओलीले जनप्रतिनिधिको थलो संसद्ले देशको आवश्यकता अनुसार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

    बिकास निर्माणका बिषयमा संसदीय समितिले दिने निर्देशनले आयोजनाहरुको काम नै रोकिने वा ढिलासुस्ती हुने गरेको उहाले आरोप लगाउनुभयो । त्यस्तै प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय, विभाग र सरोकारवालालाई शिलन्यास गरेका सडकका काम ढिला नगर्नसमेत आग्रह गर्नुभयो । उहाँले आफू प्रधानमन्त्री भएदेखि अहिलेसम्म कालोपत्र सडक निर्माण र स्तरोन्नति सडक तीन हजार ५१२ किलोमिटर भएको जानकारी दिनुभयो ।

    कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक १६५ सडकको शिलान्यास गर्नुभएको हो । रु ५७ अर्ब १० करोडको लागतमा तीन वर्षमा निर्माण गर्ने गरी ती सडक सम्पन्न गर्ने लक्ष्य लिइएको छ । एक सय ६५ निर्वाचन क्षेत्रमा एक÷एक वटा सडकका दरले शिलान्यास गरिएको हो ।

    कार्यक्रममा यातायात तथा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्बाङले तीन वर्षमा तीन हजार ५१२ किलोमिटर छ लेनका सडक निर्माण भइरहेको जानकारी दिनुभयो । यस्तै तीन हजार ३०० किलोमिटर ग्राभेल सडक, एक हजार ६८६ किलोमिटर नयाँ ट्र्याकका सडक पनि निर्माणका क्रममा रहेको उहाँले जानकारी गराउनुभयो ।

4565