• विराटनगरमा युवाहरुमा कान्छा उपनामले चिनिने नितेश राई मृत अबस्थामा फेला परेका छन् । ३८ बर्षिय नितेश बिहिबार साँझ घरबाट साथीहरुसँग भेटघाट गर्न भनि हिडेका थिए ।

    उनको शव विराटनगर महानगरपालिका १९ धनपुरास्थित खेतको एक रुखमा झुण्डिएको अबस्थामा शुक्रबार फेला परेको थियो ।विराटनगर ३ आयल निगम छेउ घर भएका राई बिहिबार साँझ ६ ३० बजे स्कुटर लिएर धनपुरामा साथीहरुसँग भेट्न गएको परीवारले जनाएको छ ।

    मृतक राईलाई उनका पाठक थर भएका एक साथीले साँझ ७ बजे मोवाइलमा सम्पर्क गरेका थिए । आफन्तका अनुसार उनलाई समेत नितेशले आफु धनपुरामा भएको र साथीहरुसँग रहेको जानकारी दिएका थिए ।

    राईको शव धनपुराको एक खेतको बीच भागमा रहेको पिपलको रुखमा झुण्डिएको अबस्थामा फेला परेको थिए । सडकखण्ड भन्दा करिब एक किलोमिटर भित्र एकान्त स्थानमा रहेको पिपलको रुखमा प्लाटिकको डोरीले झुण्डिएको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।स्थल पुगेका प्रत्यक्षदर्शी स्थानीय युवा विमल भट्टराईका अनुसार मृतकको छातीमा प्रष्ट रुपमा देखिने गरि निलडाम रहेको बताए ।

    मोरङ प्रहरीका डिएसपी तथा प्रवक्ता मानवहादुर राईले घटना शंकास्पद रहेको उल्लेख गरे । घटनाको बिषयलाई लिएर जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश प्रहरी कार्यालय विराटनगरको अपराध अनुसन्धान टिमले समेत अनुसन्धान प्रक्रिया शुरु गरेको छ । डिएसपी राईले घटनामा संलग्न भएको आरोपमा अहिलेसम्म कसैलाई पक्राउ नगरेको समेत जानकारी दिए

4565