• लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल विरुद्व अविश्वासको प्रस्ताव अगाडि बढाउने तयारी गरेको छ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि विपक्षी गठबन्धन प्रदेश सरकार फेर्ने प्रयासमा लागेको हो । मुख्यमन्त्री पोखरेलले पद नछोडे अविश्वासको प्रस्तावमा जाने तयारीमा विपक्षी कांग्रेस, माओवादी र जसपा जुटेका हुन ।

    प्रदेश संसदबाट बजेट पारित नगरेर अध्यादेशबाट ल्याएपछि एमाले नेतृत्वको सरकार नैतिक रुपमा यसअघि नै ढलिसकेको विपक्षीको दाबी छ । यसअघि वैशाख १९ गते नै जालझेल गरेर दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएको भन्दै विपक्षी गठबन्धनले प्रश्न उठाउँदै आएका छन् ।

    दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएपछि पोखरेलले अझै विश्वासको मत लिएका छैनन् । ८३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री पोखरेलको पक्षमा एमालेका ३८ सहित जसपा महन्थ ठाकुर पक्षका ३ जना गरी ४१ जना छन । विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९,माओवादी केन्द्रका सभामुख बाहेक १८, जसपाको उपेन्द्र–बाबुराम पक्षका ३ र राष्ट्रिय जनमोर्चाका १ जना गरी ४१ जना नै छन् ।।

4565